Written and reviewed by Adv. Rajendra Sharma, Founder & Senior Advocate (Om Siddhi Ganesh Kanuni Sewa).
नेपालको राष्ट्रियता : दरो खम्बाको रूपमा
नेपालको राष्ट्रियता हिमाल, पहाड र तराईको साझा अस्तित्व, आपसी विश्वास, सहअस्तित्व र नेपाली हुनुको गौरवपूर्ण पहिचानमा अडिएको छ। नेपालको राष्ट्रियता केवल भौगोलिक सीमाभित्र सीमित अवधारणा होइन, यो विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा र धार्मिक आस्थाबीचको एकता तथा पारस्परिक सम्मानको साझा भावना हो यही साझा भावना नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाभिमानको दरो आधार हो। नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष, आन्दोलन र सामाजिक परिवर्तनले राष्ट्रिय एकतामाथि अनेकौँ चुनौती खडा गरेको देखिन्छ दश वर्षे माओवादी सशस्त्र विद्रोह, २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलन तथा त्यसपछिका मधेश आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र संवैधानिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याए यी आन्दोलनले नागरिक अधिकार, समावेशिता, समानता र राज्यमा सबै समुदायको प्रतिनिधित्वका विषयलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेले तथापि, राजनीतिक ध्रुवीकरण, क्षेत्रीय असन्तुष्टि र सामाजिक अविश्वासका कारण नेपाली समाजमा हिमाल, पहाड र तराईबीचको भावनात्मक सम्बन्ध तथा विभिन्न धार्मिक समुदायबीचको सद्भाव कमजोर हुन सक्ने अवस्था पनि सिर्जना भयो विशेषगरी हिन्दु, बौद्ध र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भावलाई अझ बलियो बनाउनु राष्ट्रिय आवश्यकताको विषय बन्यो तर यी सबै चुनौतीका बाबजुद नेपाली जनताभित्र रहेको साझा राष्ट्रिय भावना कहिल्यै पूर्ण रूपमा समाप्त भएन पछिल्लो समय भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र परिवर्तनको अपेक्षा जगाएको छ भ्रष्टाचार, कुशासन, राजनीतिक बेथिति, बेरोजगारी र जवाफदेहिताको अभावविरुद्ध युवापुस्ताले उठाएको आवाजले राज्य सञ्चालनको परम्परागत शैलीमाथि गम्भीर प्रश्न खडा गर्यो त्यसपछिको राजनीतिक परिवर्तन, नागरिक सरकारको नेतृत्वमा सम्पन्न २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १८२ सिटको ऐतिहासिक जनादेशले नेपाली राजनीतिमा नयाँ अध्याय प्रारम्भ गरेको छ त्यसपछि बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुनुले जनतामा सुशासन, विकास, पारदर्शिता र परिणाममुखी शासनप्रतिको नयाँ आशा जगाएको छ यस परिवर्तनलाई कुनै एउटा राजनीतिक दलको विजयका रूपमा मात्र नभई नागरिकले असल नेतृत्व, इमानदार राजनीति र जवाफदेही राज्य व्यवस्थाप्रति व्यक्त गरेको विश्वासका रूपमा बुझ्न आवश्यक छ वास्तवमा देशको नेतृत्व गर्ने व्यक्ति असल, इमानदार, दूरदर्शी र सक्षम हुनु राष्ट्रियताको प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ जब योग्य र जनताको विश्वास प्राप्त गरेको व्यक्ति लोकतान्त्रिक निर्वाचनमार्फत देशको कार्यकारी प्रमुख बन्छ र उसले निष्पक्षता, सुशासन तथा जनहितलाई केन्द्रमा राखेर राज्य सञ्चालन गर्छ, तब त्यसको सकारात्मक प्रभाव देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत पर्छ स्वदेशका नागरिकले आफ्नो नेतृत्वप्रति गर्व र विश्वास गर्न थाल्छन् भने विदेशमा समेत नेपालको राजनीतिक नेतृत्व, राज्य व्यवस्था र राष्ट्रिय स्वाभिमानप्रति उच्च सम्मान र कदर बढ्न जान्छ। यसबाट के स्पष्ट हुन्छ भने असल नेतृत्व केवल सरकार सञ्चालन गर्ने माध्यम मात्र होइन, राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण आधारसमेत हो। तथापि, यस्तो सम्मानलाई दीर्घकालीन बनाउन नेतृत्वको इमानदारी, कार्यक्षमता र जनताप्रतिको उत्तरदायित्व व्यवहारमै प्रमाणित हुनुपर्छ राष्ट्रिय भावना अभिवृद्धिमा खेलकुदको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ हाल चर्चामा रहेको नेपाल प्रिमियर लिग (NPL) यसको एउटा उदाहरण हो क्रिकेटको मैदानमा नेपाली खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा हिमाल, पहाड र तराईका नागरिक एउटै राष्ट्रिय भावनाका साथ एकजुट भएर समर्थन गर्छन् त्यहाँ जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक विचारधाराको कुनै विभाजन हुँदैन सबैको साझा पहिचान एउटै हुन्छ नेपाली खेलकुदले नागरिकबीचको भावनात्मक सम्बन्ध बलियो बनाउँदै राष्ट्रिय झण्डाप्रतिको गौरव, देशप्रतिको माया र सामूहिक पहिचानलाई थप सुदृढ बनाउँछ। यसले राष्ट्रियता राजनीतिक भाषण र नारामा मात्र सीमित नभई जनताको दैनिक जीवन र सामूहिक भावनामा समेत जीवित रहेको प्रमाणित गर्छ त्यसैगरी, वर्षौंदेखि भूमिहीन तथा सुकुम्बासीका रूपमा जीवन बिताउँदै आएका नागरिकलाई सरकारले जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा वितरण गर्नु सामाजिक न्याय र राज्यप्रतिको विश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण कार्य हो। भूमिहीन नागरिकले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्नु केवल एउटा कानुनी कागजात प्राप्त गर्नु मात्र होइन, यो उनीहरूको आत्मसम्मान, सुरक्षित भविष्य र राज्यप्रतिको अपनत्वसँग जोडिएको विषय हो। वास्तविक भूमिहीन तथा सुकुम्बासी नागरिकलाई निष्पक्ष र पारदर्शी रूपमा जग्गाको स्वामित्व प्रदान गर्न सकिएमा सामाजिक असमानता घट्नुका साथै नागरिकमा राज्यप्रति विश्वास र अपनत्वको भावना बढ्छ। आफ्नो भूमिमा आफ्नो अधिकार स्थापित भएको नागरिकले देशलाई केवल बसोबास गर्ने भूगोलका रूपमा नभई आफ्नो अस्तित्व, भविष्य र पहिचान जोडिएको मातृभूमिका रूपमा आत्मसात् गर्छ। यसरी सामाजिक न्यायको प्रत्याभूति हुनु पनि राष्ट्रियता बलियो बनाउने महत्वपूर्ण आधार हो नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक प्रकोपले वर्षेनी नागरिकको जीवन, सम्पत्ति र पूर्वाधारमा क्षति पुर्याउँदै आएका छन्। भोटेकोसी क्षेत्रमा आएको बाढीपछिको अवस्था यसको एउटा उदाहरण हो। यस्ता विपद्पछि सरकारले तत्काल उद्धार, राहत, पुनःस्थापना र क्षतिग्रस्त पुल, सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माणमा देखाउने सक्रियता नै जनताप्रतिको वास्तविक उत्तरदायित्व हो। दुर्गम क्षेत्रमा पुल निर्माण हुनु, अवरुद्ध सडक सञ्चालनमा आउनु, बिरामीले समयमै अस्पताल पुग्न पाउनु, किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन पाउनु र विपद्मा परेका नागरिकले तत्काल सरकारी सहयोग प्राप्त गर्नु राज्यको प्रभावकारी उपस्थितिका उदाहरण हुन्। राज्यले नागरिकलाई जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक आस्थाका आधारमा विभेद नगरी समान रूपमा सेवा, सुरक्षा र संरक्षण प्रदान गर्न सक्नुपर्छ। विकास निर्माण र जनसेवाका यस्ता कार्यले नागरिकमा राज्यप्रतिको विश्वास बढाउनुका साथै राष्ट्रिय एकतालाई व्यवहारमै बलियो बनाउँछन् नेपालको राष्ट्रियता कुनै एउटा जाति, धर्म, भाषा, क्षेत्र वा राजनीतिक दलको एकाधिकार होइन। यो सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति र साझा पहिचान हो। हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको समान योगदानबाट नेपालको राष्ट्रिय पहिचान निर्माण भएको छ। हिन्दु, बौद्ध र मुस्लिमलगायत विभिन्न धार्मिक समुदायको आस्था, संस्कृति र परम्परालाई समान सम्मान प्रदान गर्नु नै नेपाली समाजको वास्तविक सुन्दरता हो। कुनै नागरिकले आफ्नो भाषा बोल्दा, आफ्नो धर्म मान्दा, आफ्नो संस्कृति संरक्षण गर्दा वा आफ्नो क्षेत्रको विकास र अधिकारको माग गर्दा आफू नेपाली हुनुको गौरवबाट वञ्चित हुनुपर्ने अवस्था आउनु हुँदैन नेपालको संविधानले समेत राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, समानता, समावेशिता र धार्मिक स्वतन्त्रतालाई महत्वपूर्ण संवैधानिक मूल्यका रूपमा आत्मसात् गरेको छ त्यसैले विविधतालाई विभाजनको आधार होइन, राष्ट्रिय शक्तिको स्रोतका रूपमा ग्रहण गर्न सक्नु नै नेपाली राष्ट्रियताको वास्तविक विशेषता हो नेपालले विगतमा अनेकौँ राजनीतिक उतारचढाव, सशस्त्र द्वन्द्व, आन्दोलन, सत्ता परिवर्तन र सामाजिक चुनौतीको सामना गर्दै आएको छ ती अनुभवबाट पाठ सिकेर अब मुलुकलाई स्थायित्व, सुशासन, विकास, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानको मार्गमा अघि बढाउनु अपरिहार्य छ जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन र नयाँ निर्वाचनले नेपाली जनतामा नयाँ आशा र अपेक्षा जगाएको छ तर राष्ट्रियताको वास्तविक सुदृढीकरण कुनै एउटा राजनीतिक दलको विजय सरकारको लोकप्रियता वा निर्वाचनमा प्राप्त सिट संख्याले मात्र सम्भव हुँदैन भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा समान पहुँच, भूमिहीनको समस्या समाधान, न्यायपूर्ण प्रशासन, पूर्वाधार विकास तथा सबै समुदायको सम्मान र संरक्षणबाट मात्र राष्ट्रियता दिगो र बलियो बन्न सक्छ हामीले बुझ्नुपर्छ, हिमालको हिमशृङ्खला, पहाडको हरियाली र तराईको उर्वर भूमि भौगोलिक रूपमा फरक भए पनि तिनको साझा नाम नेपाल हो पशुपतिनाथको धार्मिक आस्था, लुम्बिनीको शान्ति, जनकपुरको सांस्कृतिक गौरव र मुक्तिनाथको आध्यात्मिक महत्त्व फरक–फरक पहिचान भए पनि तिनको साझा अस्तित्व नेपाली राष्ट्रियताभित्रै समाहित छ राजनीतिक दल परिवर्तन हुन सक्छन्, सरकार परिवर्तन हुन सक्छन् र विचारधारा परिवर्तन हुन सक्छन्, तर नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र नेपाली जनताबीचको भ्रातृत्व तथा एकता सदैव अक्षुण्ण रहनुपर्छ अन्ततः राष्ट्रियता केवल राष्ट्रिय झण्डा फहराउनु, राष्ट्रगान गाउनु वा राष्ट्रिय दिवस मनाउनुमा मात्र सीमित हुँदैन विपद्मा परेको नेपालीलाई सहयोग गर्नु, अन्यायमा परेको नागरिकलाई न्याय दिनु, फरक धर्म र संस्कृतिको सम्मान गर्नु, देशको स्रोतसाधनको संरक्षण गर्नु, असल नेतृत्व चयन गर्नु र देशको भविष्यप्रति जिम्मेवार हुनु नै सच्चा राष्ट्रियताको अभिव्यक्ति हो जब नागरिकले राज्यबाट न्याय, सुरक्षा, समान अवसर र सम्मान प्राप्त गर्छन्, तब उनीहरूमा देशप्रतिको अपनत्व र गौरव अझ बलियो हुन्छ स्वदेशमा नागरिकको विश्वास र विदेशमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुनु नै सुदृढ राष्ट्रियताको महत्वपूर्ण उपलब्धि हो
त्यसैले नेपाली राष्ट्रियता कुनै व्यक्ति, दल वा समुदायको निजी सम्पत्ति होइन; यो सम्पूर्ण नेपालीको साझा गौरव, साझा पहिचान र साझा अस्तित्व हो हिमाल, पहाड र तराईको एकता, धार्मिक तथा सांस्कृतिक सहिष्णुता, असल नेतृत्व, सामाजिक न्याय, सुशासन र समृद्धिको साझा संकल्प नै नेपाली राष्ट्रियताको दरो खम्बा हो यही खम्बालाई अझ बलियो बनाउँदै अघि बढ्न सकेमा मात्र हामी स्वाभिमानी, समृद्ध, अखण्ड र आत्मनिर्भर नेपालको निर्माण गर्न सक्छौँ।
संवैधानिक तथा कानुनी विषयहरूमा थप जानकारीका लागि हाम्रा अन्य कानुनी लेखहरू पढ्नुहोस् वा ओम सिद्धि गणेश कानुनी सेवामा सम्पर्क गर्नुहोस्।